•  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा सहभागी नभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मै देउवालाई बधाई दिएका छन् । ओलीले प्रधानमन्त्री देउवासँग हातसमेत मिलाएर ल बधाई छ भनेका थिए ।

यसअधि नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।


त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

यीमध्ये केही सांसदहरू गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए । झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि देउवालाई विश्वासको मत दिए । उपेन्द्र यादव पक्षले त पहिलै देउवालाई मत दिने भनिसकेको थियो । राप्रपाका एक सांसदले विपक्षमा मतदान गरे भने जनमोर्चाका एक सांसदले पक्षमा मतदान गरे । नेमकिपाका एक सांसदले पनि देउवालाई मत दिएनन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •